(कथा)
विजय–मतलब शुन्य
१
गाउँमा हुर्केबढेको मान्छे, सहरमा त्यसै लाटिने, अझ मेरो त स्वभाव नै अन्तरमुखी किसिमको थियो । त्यस बेला व्याचलर सम्मको पढाई सक्न करिब ५ वर्ष लाग्थ्यो । त्यो पाँच वर्षले सामर्थ्य र स्वभाव भन्दा बाहिर भएपनि म भित्र सहरिया रहर जन्माई सकेको थियो । यतिमात्र कहाँ हो र ! सायद भर्खर चढ्दै गरेको वैंशले गर्दा होला केटीहरु प्रतिको अनुराग र आकर्षण भित्र भित्रै मौलाउँदै गएको थियो । बोल्न आँट गर्न नसक्ने, छेउ पर्न नसक्ने, कतिसम्म भने लुकी लुकी कसैले नदेख्ने गरी राम्रा केटीहरु हेर्ने, तर अरुले देख्दा भने आफु बिल्कुल भलाद्मी र रिजर्भ देखिन खोज्ने मेरो द्वैध स्वभाव देखि कहिले काहीँ आफैंलाई दिक्क लाग्थ्यो । मेरो सहरसंक्रमित आँखाले गाउँमा उठबस् हुने वालसखा (केटीहरु) मा त्यो आकर्षण पटक्कै नभेट्ने । अनि कलेजका राम्रा केटीहरुसँग भने नजिकिन धकाउने । आफुलाई भयंकर ज्ञानी र शिष्ट देखाएर नै उनीहरु प्रति छाप बसाउनु पर्छ भन्ने लालसा मनमा बोकेर क्रितृम छवि मै कलेज सिध्याईएछ । त्यतिञ्जेलमा आफ्ना दौंतरीहरुले गर्लफ्रेण्ड रिजर्व गरिसकेका थिए । अब त आफुलाई धेरै कमजोर र पछिपरेको जस्तो पनि हुन थाल्यो । अहिले लाग्छ सायद कुण्ठा यसैलाई भन्छन् होला । गाउँबाट १४ कि.मी.को दुरीको कलेज हामी साईकिल मै धाउँथ्यौं हामी । अब त प्रत्येक पल कस्तो हुन थाल्यो भने कोही नवयौवनाले साईकिलमा लिफ्ट मागिदिए हुन्थ्योे, परबाट भए पनि नियालिरहे हुन्थ्यो, छेउमा आएर बोलाई दिए हुन्थ्यो, उनीहरुबीचमा मेरो चर्चा भईदिए हुन्थ्यो । तर, केटीहरु अघिबढेर यस्तो व्यवहार देखाउँदैनन् भन्ने थाहा थिएन । पुरातन संस्कृतिमा हुर्किएको भएर होला केटीहरु प्रतिको यस्तो सोचलाई सायद म पाप ठान्थेँ । नत्र भगवानसँग एउटी राम्री केटीको सामिप्यता मागि सकेको हुने थिएँ होला ।
“रमेश भाई ! सहर हिँड्या हो?”, गणेशको आवाजले झल्यास्स बनायो । सहपाठी भए पनि गणेश उमेरमा म भन्दा जेठो भएकोले भाई भनेर बोलाउँथ्यो । साईकिल रोकेँ । “म आमालाई साइकिलमा लिएर आउँछु । उसलाई सहरसम्म छोडिदिनु पर्यो है ?”
गाउँमा खाली साईकिल देख्यो कि प्यसेन्जरको खाँचो हुँदैन । कुनै सार्वजनिक यातायत नभएको ठाउँको हाम्रो साईकिल नै बोईङ्ग थियो । मैले आप्नो प्यसेन्जर हेरेँ । हे भगवान ! एउटी असाध्यै राम्री सहरीयाढबकी केटी थिई ऊसँग । १७/१८ वर्षकी भएपनि हर्लक्क बढेकी देखिने । मैन जस्तो चिल्लो र गहुँगोरो छाला, कपाल सिउँदोको भागबाट अलिकति भुक्क माथि उठेको र पछाडीको भाग खुल्ला छोडेको, ओजस्वी र हँसिलो अनुहार, मिलाएर गाजल लगाईएका गोला र तिखा आँखा, टाईट सर्टमा ल्याप्प टाँसिएका पुष्ट नितम्ब, सर्लक्क परेका हात खुट्टा, खँदिलो जीउडाल, सायद यस्तैलाई होला इन्द्रले अप्सरा भनेको । बाफरे ! सायद आजैको दिनसम्म होला मेरो कुण्ठाको आयु । एकै निमेषमा कुनै केटीको यतिका विघ्न अध्ययन गर्नु मेरो लागि कहिल्यै सम्भव थिएन, तर आज अचम्मै गरेँ मैले । अनि लाग्यो–साईनो गाँसिन होला ।
मेरो मनको सबै भाव बुझिसक्यो होला जस्तो लागेर लाजले हो या डरले, मैले गणेशको मुख हेर्न सकिन । आँखाले अन्तै हेरेजस्तो पार्दै आफुलाई बनावटी हतार देखाएर उनलाई साईकिलमा बसीहाल्न भनेँ । हतार गर्नुको पछि दुई कारणहरु थिए । एकातिर मेरो केटीहरु प्रति कुनै खास चासो छैन भन्ने विश्वास गणेशलाई दिलाउन चहान्थे भने अर्को तर्फ छिट्टै त्यहाँबाट नहिँडेमा अर्को कुनै हट्टाकट्टा साईकिलसवारले उछिटउला कि भन्ने पनि पीर थियो मलाई । कुनै नाईनास्ति नगरी हुईँकियौं हामी ।
झण्डै एक घण्टाको यात्रामा कत्ति धेरै कुरा हुन सक्ने भएकोले म रोमाञ्चित थिएँ । उनी साईकिलको पछाडीको केरियरमा बस्दा आधा संसार जिते जस्तै भयो । मलाई त्यो तराईको चैत्र महिनामा पनि गर्मी भएन, आफ्नो पुरानो साईकिल पनि कत्ति हलुका लाग्यो । पाईडल आफैँ चले जस्तो हुन थाल्यो । बाटो कहिल्यै नसकिए हुने जस्तो लाग्न थाल्यो ।
निकै बाटो काटिसक्दा पनि मैले कुन विषयबाट गफ थाल्ने भन्ने योजना नै राम्रो बनाउन सकिन । मनमनै गणेशसँग असाध्यै रिश उठ्यो । कमसेकम उसले अघिल्लो दिन नै भनेको भए रातभर योजना बनाउँथेँ, बोलाईका सृङ्घला बुन्थे र आज प्रभावपूर्ण वार्तालाप हुन्थ्यो । अलच्छिनी दिमाग, चाहिएको बेलामा कुरा नै फुर्र्दैन । उनी पनि अलि टाँस्सिएर बसे पनि त हुने नि ! कत्ति अलग्गै बसेको होला । तर, मेरो मनमा के कुरा खेल्दैछ भन्ने उनलाई कसरी थाहा हुनु र टाँस्सिनु त ? आफैं चित्त बुझाएँ मैले ।
“कति लामो बाटो है ?” आखिर उनैले मौनता तोडिन् । मलाई हारे जस्तो लाग्यो । आफुलाई बाटो छोटा लागिरहेको बेला उनलाई लामो लाग्यो । कमसे कम बोलीको शुरुवात आफैंले गरेको भए हुन्थ्यो नि ! अर्कै कुरा त निस्कन्थ्यो होला !
तैपनि विस्तारै गफगाफ सुरु भयो । उनी भर्खर एस.एल.सी. दिएर नतिजाको प्रतिक्षामा रहिछन् । सहरमा हुर्केकोले गर्दा गाउँको धेरै कुरा थाहा नभए जस्तो गर्थिन् वा पक्कै थाहा थिएन मैले खुट्याउन सकिन । उनीले नै धेरै बताईन् । म भने कस्ता कुरा गरेर प्रभाव पार्ने भनी तौलीतौली बोलिरहेको थिएँ । साँचै भनौं भने साईकिलमा बोक्न पाउँदा नै मलाई उनी आफ्नै भए जस्तो लागिसकेको थियो । बरु मनमा भने सम्पन्न घरकी, सहरमा हुर्केकी केटीलाई मैले कसरी खुसी राख्न सक्छु होला भन्ने कुराहरु खेलिरहेका थिए । आफैंलाई ढाडस पनि दिन्थेँ – म पनि के कम छु ? यो सानै उमेरमा बी.कम. पढ्याछ । सम्पत्ति त नभएको हो ! मास्टरको जागिर पो खान्छु त । माया भए पछि अलि अलि दुःख त ख्यालै हुँदैन नि ! केटीहरुको अघि आफुलाई परिपक्व र सुझबुझपूर्ण रुपले प्रस्तुत गर्नुृ पर्छ भन्ने मलाई लाग्थ्यो । त्यसैले जवाफमा असाध्यै लामो छ, बस चलेदेखि सबैलाई सहज हुन्थ्यो मात्र भनेँ । हामी दुबैले व्यक्तिगत कुराहरु सोधेनौं । गाउँघरका चर्चित घटना, खोला बाढी, गाईवस्तु चराउने, घाँस दाउरा आदिका कुराहरु नै बढी भए ।
जंगलबाट दाउरा काटेर टाउको र भारमा बोकी सहर बेच्न लैजाँदै गरेका एकहुल महिला पुरुषहरुलाई हाम्रो साईकिलले जित्यो । मैले तिनीहरुको प्रसंग नै गफको माहोैल बनाई सुरु गरेँ ! “बिचरा ! कत्ति कष्टपूर्ण जीवन छ ? यिनलाई पनि त हाम्रो जस्तो साईकिलमा हररर गुड्ने रहर हुँदो हो ।”
“जति दुःख भए पनि उनीहरु नै हामी भन्दा खुसी छन् । देख्नु भएन तेत्रो भारीले थिच्दा पनि कसरी मस्कि मस्कि कुरा गरिरहेका छन् ? सुःख भन्दा खुशी बढी महत्वपूर्ण जस्तो लाग्छ मलाई” उनको यो वाक्यले त मलाई पक्कै निमन्त्रणा गरे जस्तो लाग्यो । मुटु भित्र कता कता फुलिएर आए जस्तो भयो । यही सिलसिला जोडेर प्रेम–प्रस्ताव राखीहालुँ जस्तो भयो । फेरि संकोच मोराले निचोरेर राख्यो । केही जवाफै दिन सकिन मैले । “मेरो कुरा चित्त बुझेन कि क्या हो?” फेरी खनियो उनको प्रश्न । बोली नै कति मिठो छ भने मेरो कुराको पहिलो पटक ठाडो खण्डन भैसक्दा पनि रसिलो लागिरह्यो । कताबाट आउँछ यस्तो आवाज ? थामिएर, सम्भालिएर, सटिक शब्द चयन, अनुप्रास मिलाएर । उनी भन्दा त्यती धेरै पढेर पनि मलाई चैं चाहिएको समयमा त्यस्तो प्रभावपूर्ण शैली किन नआएको होला ? भगवानले पनि सबै कुरामा मलाई नै किन ठगेको होला ?
उनी उत्रने ठाउँमा पुगियो । बढो मुश्किलले मैले उनको नाम सोधेँ । “नाम मात्रै सोधेको ठेगाना चैं भन्नु पर्दैन ?” भन्दै ठहका लगाइन् । म फेरि दोस्रो पटक पराजित भएँ ।
साईकिलबाट उत्रदै भनिन्, “ठट्टा गरेको है, नरिसाउनु ।” मुश्किलले खिसिक्क हाँसे । तर साईकिलबाट उनी उत्रदा मलाई असह्य छटपटि भईरहेको थियो । कलेज धाउँदा लम्पट पट्यारलाग्दो लामो लाग्ने त्यो बाटो आज चैं छोटो भएकोमा रिश उठ्यो । अझ लामो भईदिएको भए पनि त हुन्थ्यो नि ! बाटोमा साईकिल बिग्रिदिएको भए पनि हुने ।
अनायस मुखबाट निस्कियो, “अब कहिले भेट होला?”
“किन यत्रो लामो धुलेबाटोमा डबल साईकिल हाँकेर पनि रहर पुगेन र ?” फेरी उनको त्यही हाँसो घन्कियो र मैले तेस्रो पटक आफुलाई निरिह ठानेँ ।
“नाम सोध्या हैन ? शिखा हो मेरो नाम । तपाईँको नाम चैं रमेश होईन त ?” बढो सादगीपूर्ण ढंगबाट सोधिन् । मैले हो भन्ने भावमा टाउको हल्लाएँ । उही मोहनी मुस्कान सहित बिदा मागिन, “लौ छुटौ है त रमेश भाई !”
'भाई ?' थुईक्क साला । यत्रो बेला सम्म उनले त मलाई केटा केटी ठानेर पो बोलेको रहेछ ! आफुले उनलाई लिएर कस्ता मात्रै कल्पना सजाईएन ? बाटो भरीको सारा थकान एकै पटक महशुस भयो । आफ्नो पराजयको सारा दोष त्यहि थोत्रो साइकिललाई दिएर भए पनि तनाव घटाउन मन लाग्यो । साईकिललाई स्ट्यान्ड नै नलगाई पर धकेलिदियें अनि अलि पर पिपल चौतारीमा गई थचक्क बसेँ । कुनै गल्ति बिनानै सजाय भोग्नु परेकोले होला साइकिल पर गएर डन्गरंग लड्यो ।
त्यो एउटा 'भाई' शब्द यस्तरी कानमा बज्रियो कि मैले बिदाईको हात पनि हल्लाउन सकिन र उनी तिर फर्केर पनि हेरिन ।
क्रमशः